गुँला पर्व सुरु, स्वयम्भूसहित बौद्ध चैत्यमा भक्तजनको चहलपहल


  • दिव्यदर्शन
  • बिहिबार, साउन २८ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ। नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइने यो पर्व धार्मिक आस्था, सामुदायिक एकता तथा नेवार समुदायको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

गुँला पर्व सुरु भएसँगै काठमाडौंको स्वयम्भू महाचैत्यलगायत विभिन्न बौद्ध चैत्य, विहार तथा धार्मिकस्थलमा भक्तजनको चहलपहल बढेको छ। पर्व अवधिभर भक्तजन बिहानै उठेर स्नान तथा पूजा–आराधना गरी चैत्य दर्शन र परिक्रमा गर्ने गर्छन्।

गुँला पर्व भगवान् बुद्धप्रति श्रद्धा व्यक्त गर्ने, पुण्य सञ्चय गर्ने तथा धार्मिक अनुशासन कायम गर्ने उद्देश्यले मनाउने परम्परा छ। भक्तजनले एक महिनासम्म नियमित रूपमा विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण गरी पूजा–आराधना गर्ने गर्छन्।

गुँला पर्वको मुख्य धार्मिक गन्तव्यका रूपमा स्वयम्भू महाचैत्यलाई लिइन्छ। यसबाहेक बौद्धनाथ, पाटनको पुलचोक तथा काठमाडौं उपत्यकाका विभिन्न चैत्य, विहार र स्थानीय देवदेवीका मन्दिरमा समेत भक्तजन पुग्ने गर्छन्। टोल–टोलबाट समूह बनाएर परम्परागत बाजागाजासहित चैत्य तथा देवदेवीको परिक्रमा गर्ने चलनसमेत रहेको छ।

गुँला पर्वमा धार्मिक पूजासँगै मौलिक नेवार बाजागाजाको प्रस्तुति विशेष आकर्षण बन्ने गरेको छ। राँगाको सिङबाट बनाइने न्याकुँ, धाः, धिमे, भुस्या, बाँसुरीलगायतका परम्परागत बाजा बजाउँदै भक्तजन धार्मिकस्थलको परिक्रमा गर्ने गर्छन्। यसले पर्वको धार्मिक वातावरणलाई थप जीवन्त बनाउनुका साथै नेवार समुदायको सांस्कृतिक पहिचानलाई समेत उजागर गर्छ।

गुँला केवल पूजा, आराधना र चैत्य परिक्रमा गर्ने पर्व मात्र नभई धर्म, संस्कृति र समुदायलाई जोड्ने महत्वपूर्ण परम्परा पनि हो। खेतीपातीका मुख्य काम सम्पन्न भएपछि मनाइने भएकाले यसलाई समुदायबीच भेटघाट, आपसी सद्भाव र खुसी साटासाट गर्ने अवसरका रूपमा समेत लिइन्छ।

विशेषगरी नयाँ पुस्तालाई मौलिक बाजा, धार्मिक संस्कार तथा सांस्कृतिक परम्परासँग जोड्न गुँला पर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। एक महिनासम्म चल्ने पर्वमा भक्तजनले बुद्ध तथा विभिन्न देवीदेवताको पूजा–आराधना, चैत्य परिक्रमा तथा विभिन्न सांस्कृतिक गतिविधिमार्फत पुस्तौँदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web