काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई धर्नामा सहभागी हुन आह्वान गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै पत्रकार श्रेष्ठको रिहाइको मागसहित धर्नामा सहभागी हुन आग्रह गरेका हुन्।
नेपाल प्रहरीले हिजो जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसपछि आज बिहान प्रहरी टोलीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको महासंघले जनाएको छ।
महासंघले श्रेष्ठको पक्राउ तथा जनआस्थाको कार्यालयमा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै विरोध गरेको छ। हिजो राति नै महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि पुगेर विरोध प्रदर्शन गरेको थियो।
महासंघले पत्रकार श्रेष्ठलाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी दिएको छ।
यता, प्रहरीले भने पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। श्रेष्ठमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
