धादिङबेँसी । धादिङ जिल्लामा उत्कृष्ट विद्यालयका रूपमा परिचित एडभान्स एकेडेमीमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरूको दुईदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ।
विभिन्न बेल्ट तहका लागि सञ्चालन गरिएको ग्रेडिङमा सफल विद्यार्थी खेलाडीलाई विद्यालयका संस्थापक अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालयका तेक्वान्दो गुरु मारियम तामाङ र अञ्जना गुरुङलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।
एडभान्स एकाडेमीले कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि तेक्वान्दो खेललाई अनिवार्य रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। विद्यालयका अनुसार हालसम्म २२० जनाभन्दा बढी विद्यार्थी फर्स्ट डान खेलाडी बनिसकेका छन्।
विद्यालयले तेक्वान्दो प्रशिक्षणमार्फत विद्यार्थीमा अनुशासन, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुगेको जनाएको छ। पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको विद्यालयका विद्यार्थीले जिल्लादेखि प्रदेश हुँदै अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा समेत सफलता हासिल गर्दै आएका छन्।
विद्यालयले खेलकुद र शिक्षालाई सँगसँगै अघि बढाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ।
