धादिङलाई शान्ति, सद्भाव र सहअस्तित्वको नमुना जिल्ला बनाउने धर्मगुरुहरूको प्रतिबद्धता


  • दिव्यदर्शन
  • बुधबार, साउन २७ २०८३
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ । धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै जिल्लालाई शान्ति, एकता र सहअस्तित्वको नमुना बनाउने प्रतिबद्धता विभिन्न धर्मका धर्मगुरुहरूले व्यक्त गरेका छन्।

नागरिक समाज धादिङको आयोजनामा धादिङबेँसीमा आयोजित सद्भाव प्रवचन तथा नागरिक समाज भेलामा विभिन्न धर्मका धर्मगुरु तथा नागरिक समाजका प्रतिनिधिले सामाजिक सद्भावसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।

नागरिक समाज धादिङका अध्यक्ष उत्तम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा धर्म फरक भए पनि सबै धर्मको मूल उद्देश्य शान्ति, प्रेम, क्षमा, सद्भाव र मानव सेवा रहेको धारणा व्यक्त गरिएको थियो। धार्मिक आस्थाका आधारमा समाजमा विभाजन, द्वेष र घृणा सिर्जना हुन नदिने तथा साझा मानवीय मूल्य र मानवताको आधारमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिबद्धता पत्रमा धार्मिक सहिष्णुता र सम्मान, विभेदको अन्त्य, सद्भाव र सहकार्य, द्वेष तथा हिंसाको रोकथाम, जिम्मेवार अभिव्यक्ति तथा शान्ति र एकता गरी छ वटा विषय समेटिएका छन्।

सबै धर्म, समुदाय, परम्परा, संस्कृति र आस्थाप्रति समान सम्मान र सहिष्णु व्यवहार गर्ने तथा धर्म, जात, लिङ्ग, भाषा, संस्कृति वा आस्थाका आधारमा हुने विभेद, घृणा, अपमान र विभाजनलाई निरुत्साहित गर्ने उल्लेख गरिएको छ।

त्यस्तै अन्तरधार्मिक संवाद र सहकार्यलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा एकजुट भएर काम गर्ने प्रतिबद्धता गरिएको छ। धर्मका नाममा फैलाइने अफवाह, घृणा, उत्तेजना तथा हिंसात्मक गतिविधिको सामूहिक रूपमा विरोध गर्दै शान्ति, मानवता र सहअस्तित्व प्रवर्द्धन गर्ने धर्मगुरुहरूले प्रतिबद्धता जनाएका छन्।

सार्वजनिक कार्यक्रम, धार्मिक प्रवचन तथा सामाजिक सञ्जालमा अरूको आस्था र भावनामा चोट नपुग्ने गरी संयमित, मर्यादित र सम्मानजनक भाषा प्रयोग गर्ने प्रतिबद्धता समेत गरिएको छ।

धार्मिक तथा सांस्कृतिक विविधतालाई जिल्लाको साझा सम्पत्तिका रूपमा स्वीकार गर्दै धादिङलाई ‘शान्ति, सद्भाव, एकता र सहअस्तित्वको नमुना जिल्ला’ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

प्रतिबद्धता पत्रमा विश्व हिन्दु महासंघका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नेपाल बौद्धधर्म विश्व शान्ति चक्र संघका अध्यक्ष गंगाबहादुर लामा, धादिङ इसाई समाजका अध्यक्ष लेकबहादुर तामाङ र मुस्लिम समाज धादिङका अध्यक्ष समसुदिन मियाँले हस्ताक्षर गरेका छन्। कार्यक्रममा सहभागी अन्य धर्मगुरु तथा नागरिक समाजका प्रतिनिधिहरूले समेत प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web