नेत्रावती डबजोङ–३ मा यहि भाद्र ६ गते ९४औँ तामाङ पहिचान दिवस विविध कार्यक्रमसहित मनाइँदै


  • दिव्यदर्शन
  • मंगलबार, साउन २६ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । तामाङ समुदायको भाषा, कला, धर्म, संस्कृति, इतिहास तथा जातीय पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ९४औँ तामाङ पहिचान दिवस–२०८३ विविध कार्यक्रमसहित मनाइने भएको छ।

तामाङ पुर्खाहरूले गरेको त्याग, तपस्या, संघर्ष र बलिदानको स्मरण गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा तामाङ समुदायका मौलिक परम्परा, संस्कृति र पहिचान झल्कने विभिन्न गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।

नेत्रावती डबजोङ गाउँपालिका–३ नं. वडा कार्यालय, सेमजोङ, धादिङको आयोजनामा कार्यक्रम २०८३ भदौ ६ गते शनिबार सेमजोङटोलमा हुने भएको हो।

कार्यक्रमअन्तर्गत बिहान ६ः३० बजेदेखि दौड प्रतियोगिता सञ्चालन हुनेछ। त्यसपछि बिहान ११ बजेदेखि विविध तामाङ पहिचान झल्कने प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा म्हेन्दोमाया, साइँकोले, वरवर ह्वाई, बोम्साङ, लङडो तप्पा, सामूहिक मानेदोरा नाच लगायतका मौलिक तामाङ प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने वडा अध्यक्ष सुरेश वाइबाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

आयोजकले तामाङ समुदायको मौलिक परम्परा, संस्कृति र पहिचानको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुर्‍याउने यस कार्यक्रममा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web