काठमाडौँ — नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।
बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले बजार अनुगमन तीव्र बनाएको जनाएको छ। निगमका अनुसार असार ३१ गतेदेखि १४ दशमलव २ किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिन्डर नियमित रूपमा बिक्रीवितरण भइरहेको छ।
साविकको तुलनामा अहिले करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको निगमको दाबी छ। अनुगमनका क्रममा केही व्यावसायिक प्रतिष्ठानले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको निगमले जनाएको छ।
निगमले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै सिलिन्डर राख्न र बढी मौज्दात भए तत्काल डिपोमार्फत सर्वसाधारणलाई बिक्रीवितरण गर्न आग्रह गरेको छ। निगमको निर्देशनविपरीत अनावश्यक रूपमा ग्यास भण्डारण गरेको भेटिए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
