काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन पाँच बुँदे निष्कर्षसहित सम्पन्न भएको छ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौंमा आयोजित सम्मेलनको समापनका अवसरमा पाँच बुँदे निष्कर्ष सार्वजनिक गरिएको हो।
सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामै १५औँ महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको छ।
त्यस्तै, २०३३ सालमा महामानव बिपी कोइरालाले तत्कालीन राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै वर्तमान अवस्थामा पनि देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकालिएको छ। राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने सम्मेलनले प्रतिबद्धता जनाएको छ।
सम्मेलनले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। हिन्दू, बौद्ध, किरात तथा प्राकृत धर्म–संस्कृतिको संरक्षण गर्दै सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि सम्मेलनले व्यक्त गरेको छ।
त्यसैगरी, वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै संविधानमा भएको व्यवस्थाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी त्यसको निकास खोज्ने निष्कर्ष निकालिएको छ।
सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जनसहित प्रस्तावलाई लिखित रूपमा अन्तिम रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहनेछन्।
सम्मेलन समापन समारोहमा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा, सम्मेलनका संयोजक डा. शशाङ्क कोइरालालगायत कांग्रेसका विभिन्न नेताहरूले सम्बोधन गर्नुभएको थियो।
