धादिङका युवाहरूले युवालाई विकासको लक्षित समूह मात्र नभई विकासका साझेदार र नेतृत्वकर्ता का रूपमा स्वीकार गर्न सरकारसँग माग गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा जिल्लाका विभिन्न युवा सञ्जाल, समूह, उद्यमी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरूको छलफल र अन्तरक्रियाबाट प्राप्त सुझाव समेट्दै ‘धादिङ युवा घोषणापत्र २०८३’ सार्वजनिक गरिएको हो।

घोषणापत्रमा युवाका लागि स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता तथा स्टार्टअपका लागि सहुलियतपूर्ण वित्तीय पहुँच, कृषि, पर्यटन, सूचना प्रविधि र डिजिटल अर्थतन्त्रमा युवाको सहभागिता बढाउनुपर्ने माग गरिएको छ। बजारसँग जोडिएको सीपमूलक शिक्षा, सुरक्षित वैदेशिक रोजगारी तथा विदेशबाट फर्किएका युवाको सीप, पुँजी र अनुभवलाई स्थानीय उत्पादनमा उपयोग गर्ने नीति ल्याउन पनि आग्रह गरिएको छ।

त्यस्तै युवा महिलासहित दलित, जनजाति, अपाङ्गता भएका तथा आर्थिक रूपमा कमजोर युवाका लागि लक्षित अवसर सुनिश्चित गर्नुपर्ने, स्थानीय तहको योजना तथा बजेट निर्माणमा युवाको अर्थपूर्ण सहभागिता गराउनुपर्ने र प्रत्येक स्थानीय तहमा ‘युथ इन्फर्मेसन/रिसोर्स सेन्टर’ स्थापना गर्नुपर्ने माग घोषणापत्रमा समेटिएको छ।
युवाको मानसिक स्वास्थ्य, करियर काउन्सिलिङ, डिजिटल साक्षरता, एआई तथा डिजिटल उद्यमशीलता, खेलकुद, कला, संस्कृति र सिर्जनशील उद्योगमा लगानी प्रवर्द्धन गर्नुपर्ने तथा युवाको नेतृत्वमा सामाजिक नवप्रवर्तन र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ। साथै, स्थानीय सरकार, निजी क्षेत्र, नागरिक समाज र युवाबीच नियमित संवादका लागि ‘धादिङ युवा नेटवर्क’ स्थापना गर्न आग्रह गरिएको छ।
घोषणापत्रमार्फत युवाहरूले सामाजिक सद्भाव, समानता र समावेशिता प्रवर्द्धन गर्ने, स्थानीय विकासमा स्वयंसेवी रूपमा सहभागी हुने, वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान गर्ने र युवाका साझा सवाललाई संगठित तथा तथ्यमा आधारित रूपमा सम्बन्धित निकायसम्म पुर्याउने आठबुँदे प्रतिबद्धता पनि जनाएका छन्।
युवाहरूले बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीलाई मध्यनजर गर्दै युवालाई विदेश जान रोक्नेभन्दा स्वदेशमै अवसर सिर्जना गर्ने नीति आवश्यक रहेको बताएका छन्। युवालाई शिक्षा, सीप, पुँजी, प्रविधि, रोजगारी, उद्यमशीलता र निर्णय प्रक्रियासँग जोड्न सके धादिङको आर्थिक तथा सामाजिक रूपान्तरण तीव्र बनाउन सकिने उनीहरूको निष्कर्ष छ।

‘युवाको आवाज सुनौँ, अवसरको सिर्जना गरौँ, नेतृत्वमा सहभागी गराऔँ, समृद्ध धादिङ निर्माण गरौँ’ भन्ने आह्वानसहित सार्वजनिक घोषणापत्रको मूल प्रतिबद्धता ‘युवा पलायन रोकौँ, युवाका लागि अवसर सिर्जना गरौँ, धादिङ निर्माण गरौँ’ रहेको छ।

घोषणापत्रमा ग्रामीणमुखी युवा अभियान (रोयम नेपाल) धादिङका जिल्ला परियोजना संयोजक हरिशरण धिताल, रोट्रयाक क्लब अफ धादिङका अध्यक्ष भवानी भट्टराई, परिवर्तन जिल्ला युवा महिला सञ्जाल धादिङकी अध्यक्ष आकृति थापा, युवा मानव अधिकार रक्षक सञ्जाल धादिङकी अध्यक्ष स्नेह श्रेष्ठ, ग्लोबल नेपालका कार्यकारी निर्देशक नारायण कुमार श्रेष्ठ, रोटरी क्लब अफ धादिङका अध्यक्ष ईश्वर कडेल तथा रोट्रयाक क्लब अफ धादिङका सल्लाहकार अशोक कुमार बस्नेतले हस्ताक्षर गरेका छन्।

