धादिङ । नेत्रावती डब्जोङ गाउँपालिकामा नियमित खोप कार्यक्रमको समीक्षा तथा योजना अध्यावधिक गोष्ठी सुरु भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको गोष्ठीको आज उद्घाटन गरिएको हो।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु धामलाको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा खोपसम्बन्धी विभिन्न विषयका विज्ञ तथा सम्बन्धित व्यक्तिहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए।
दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा नेत्रावती डब्जोङ गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। गोष्ठीमा नियमित खोप कार्यक्रमको आर्थिक वर्ष २०८२/०८३को समीक्षा गर्दै कार्यक्रम सञ्चालनका क्रममा भएका उपलब्धि, समस्या तथा चुनौतीबारे छलफल गरिनेछ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८३/०८४ मा खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा कसरी अगाडि बढाउने, स्वास्थ्यकर्मीहरूले कार्यक्षेत्रमा भोगिरहेका समस्या तथा चुनौतीको पहिचान गरी समाधानका उपाय खोज्ने विषयमा समेत छलफल हुने जनाइएको छ।
गोष्ठीमार्फत खोप सेवाको पहुँच र प्रभावकारिता बढाउँदै गाउँपालिकाभित्रका बालबालिकालाई नियमित तथा गुणस्तरीय खोप सेवा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

