काठमाडौँ। दशैँको अवसरमा सार्वजनिक यातायातको अभावमा यात्रुहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेका छन्। दुवै सुरक्षा निकायले दशैँको टीकाको दिन पनि विभिन्न रुटमा बस सेवा सञ्चालन गरेका हुन्।
नेपाल प्रहरीले उपत्यकाका तीनवटा रुटमा दुई दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ। टीकाको दिन पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेदेखि बस सञ्चालन हुने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीका अनुसार पहिलो रुट नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ।
दोस्रो रुट नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।
त्यसैगरी तेस्रो रुट नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क र महाराजगन्ज हुँदै पुनः नक्साल पुग्ने गरी निर्धारण गरिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पनि सर्वसाधारण यात्रुको सहजताका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने यी बसले उपत्यकाका विभिन्न स्थानमा यात्रुलाई सेवा प्रदान गरिरहेका छन्।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकबाट सञ्चालन हुने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायतका क्षेत्रका यात्रुलाई सेवा दिनेछ। अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्कलगायतका क्षेत्रमा सेवा प्रदान गर्ने सशस्त्र प्रहरीले जनाएको छ।
दशैँका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा समस्या भोगिरहेका यात्रुका लागि यी निःशुल्क बस सेवाले राहत पुर्याउने अपेक्षा गरिएको छ। चाडपर्वका समयमा सर्वसाधारणको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायले गरेको यो पहललाई सकारात्मक रूपमा लिइएको छ।

