काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। बडादशैंको पहिलो दिन आज देशभरका हिन्दु धर्मावलम्बीहरूले वैदिक विधिअनुसार घटस्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गर्दैछन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको छ। दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताएका छन्।
सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको उनले स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएका भनाइ शास्त्रसम्मत नभएको पनि उनले बताएका छन्।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं हर्षोल्लासका साथ मनाइन्छ। घटस्थापनाका दिन घरको पूजा कोठा वा दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी पवित्र स्थलबाट ल्याइएको माटो वा बालुवामा जौ छरेर जमरा राख्ने परम्परा छ।
जौको अंकुरलाई दुर्गा भवानीको प्रिय वस्तु मानिने भएकाले दशैंको टीकाका दिन पहेँलो जमरा प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जौकै जमरा राख्ने विधान छ। यद्यपि कतिपयले गहुँ र मकैको जमरा राख्ने गरेको पाइन्छ।
घटस्थापनादेखि विजयादशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ। यस अवधिमा दुर्गा भवानीका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा–आराधना गरिन्छ।
दशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा दशैंघर, कोत तथा शक्तिपीठहरूमा विशेष पूजा गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा पनि छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गर्दछ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादशैं धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको पर्व हो। यस पर्वमा परिवारका सदस्य तथा आफन्तजनबीच भेटघाट, आशीर्वाद आदानप्रदान र आपसी सद्भाव साटासाट गर्ने परम्परा रहेको छ।
यस वर्षको विजयादशमीको टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सो दिन बिहान १० बजेर २६ मिनेटलाई निर्धारण गरेको छ।
