धादिङ इसाई समाजद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख ८३ हजार ५७० रुपैयाँ सहयोग


  • दिव्यदर्शन
  • शनिबार, असोज ३१ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धादिङ इसाई समाजले प्रधानमन्त्री राहत कोषमा १२ लाख ८३ हजार ५७० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

धादिङ इसाई समाज, नीलकण्ठ नगरपालिका–३, धादिङले उक्त रकम जिल्ला प्रशासन कार्यालय धादिङमार्फत प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष लेक बहादुर तामाङलगायत जिल्लामा रहेका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो।

विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन तथा उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले उक्त आर्थिक सहयोग गरेको हो। विपद्को समयमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना अझ महत्वपूर्ण हुने सन्देशसमेत यस पहलले दिएको छ।

विपद् कुनै जात, धर्म वा समुदाय विशेषको समस्या मात्र नभई सम्पूर्ण समाजको साझा चुनौती भएको सन्दर्भमा धादिङ इसाई समाजको यो सहयोगले मानवता, एकता र परोपकारको सकारात्मक सन्देश प्रवाह गरेको छ। दुःख र संकटको घडीमा पीडित नागरिकको साथमा उभिनु नै सच्चा मानवीय धर्म हो भन्ने भावनालाई यस सहयोगले थप बल पुर्‍याएको छ।

समाजमा रहेका विभिन्न व्यक्ति तथा संस्थाले आ–आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्दै जाने हो भने विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।

धादिङ इसाई समाजको यस मानवीय कार्यले सामाजिक सद्भाव, आपसी सहयोग र सेवाभावलाई प्रोत्साहन गर्नुका साथै संकटको समयमा सबै मिलेर अघि बढ्नुपर्ने प्रेरणादायी सन्देश दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web