धादिङ। भोटेकोशी बाढीमा परी ज्यान गुमाएका स्वर्गीय सन्तोष श्रेष्ठको परिवारलाई नीलकण्ठ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्ष (२०७९ ब्याच) अध्ययन गरेका साथीहरूले आर्थिक सहयोग गरेका छन्।
साथीहरूबाट संकलन गरिएको ७३ हजार ४९५ रुपैयाँ आज स्वर्गीय श्रेष्ठको घरमै पुगेर उहाँका आमाबुबालाई हस्तान्तरण गरिएको हो। विपद्का कारण प्रिय सन्तान गुमाउनुपरेको परिवारलाई दुःखको यस घडीमा केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले पूर्वसहपाठीहरूले रकम संकलन गरी सहयोग गरेका हुन्।
स्वर्गीय सन्तोष श्रेष्ठ अध्ययनका क्रममा अत्यन्त मिलनसार, मेहनती, लगनशील र अनुशासित विद्यार्थीका रूपमा परिचित थियो ।पढाइमा अब्बल उहाँले नेपाल सरकारको शिक्षक सेवामा स्थायी शिक्षकको रुपमा तिमुरेस्थित राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत रहनुभएको थियो।
मेहनत, इमानदारी र लगनशीलताका माध्यमबाट आफ्नो भविष्य निर्माण गर्दै समाज र शिक्षाक्षेत्रमा योगदान पुर्याउने यात्रामा रहनुभएका श्रेष्ठको असामयिक निधनले परिवार, साथीभाइ तथा उहाँसँग परिचित सबैलाई मर्माहत बनाएको छ।
सहपाठीहरूबाट गरिएको यो सहयोग रकम आर्थिक दृष्टिले ठूलो वा सानोभन्दा पनि दुःखमा परेका परिवारप्रतिको आत्मीयता, मित्रता र मानवीय संवेदनाको प्रतीक बनेको छ। जीवनको कठिन घडीमा आफूलाई सम्झिने र साथ दिने साथीहरू पाउँदा शोकाकुल परिवारलाई भावनात्मक रूपमा समेत केही सान्त्वना मिल्ने अपेक्षा गरिएको छ।
साथीहरूबीचको आत्मीयता र दुःखमा एकअर्कालाई साथ दिने भावनाले नै मानवता जीवित राख्छ। स्वर्गीय सन्तोष श्रेष्ठको सम्झनामा गरिएको यस मानवीय सहयोगले समाजमा सहकार्य, सद्भाव र सहयोगी संस्कारको सकारात्मक सन्देश दिएको छ।
स्वर्गीय सन्तोष श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

