बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन , यात्रा जोखिमपूर्ण


  • दिव्यदर्शन
  • आइतबार, असोज २५ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

म्याग्दी । बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक मर्मतसम्भारपछि एकतर्फी सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आए पनि साँघुरो, हिलाम्मे र जोखिमपूर्ण अवस्थाका कारण यातायात सहज हुन सकेको छैन ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि सडकका विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर तथा नदी कटान भएका क्षेत्रमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालन गरिएको हो । मालढुङ्गादेखि कोरलासम्म ४६ स्थानमा सडक अवरुद्ध भएकोमा १० स्थानमा नदी कटानले सडकको आधार नै बगाएको थियो ।

बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्मको ३७ किलोमिटर सडकखण्ड पहिरोको उच्च जोखिममा छ । गलेश्वर–बेगखोला, महभिर–भिरकाटे र गुइठेभिर–काभ्रेभिर क्षेत्रमा सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने समस्या रहेको छ ।

सडक आयोजनाका अनुसार पहिरोका अधिकांश अवरोध हटाइए पनि नियमित र सुरक्षित यातायात सञ्चालनमा अझै चुनौती छ । सडक मर्मतमा खटिनुभएका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालन गर्न अझै धेरै स्थानमा पहिरो पन्छाउनुपर्नेछ ।

मुस्ताङमा रोकिएका सवारीसाधन फर्किन थालेपछि सडकमा लामो जाम हुन थालेको छ । दसैँलाई लक्षित गरी कोरला नाकाबाट आयात गरिएका सामान बोकेका पाँच सयभन्दा बढी कन्टेनर सडक सहज हुने प्रतीक्षामा छन् । हाल एम्बुलेन्स, औषधि ढुवानी गर्ने र बाटोमा अलपत्र परेका सवारीसाधनलाई प्राथमिकताका साथ आवतजावत गर्न दिइएको छ ।

सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार सडक सुधारका लागि दैनिक १५ देखि २० वटा उपकरण र पर्याप्त मजदुर परिचालन गरिएको छ । दसैँअघि सडक पूर्ण रूपमा सहज नहुने भएकाले मुस्ताङ घुम्न जाने यात्रुलाई तत्काल यात्रा गर्न हतार नगर्न उहाँले सुझाव दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web