दशैंको टीका, जमरा र सांस्कृतिक प्रस्तुतिसँगै आयाम इङ्लिस स्कुलमा चाडपर्वको रौनक


  • दिव्यदर्शन
  • बिहिबार, असोज २९ २०८३
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ । दशैं र तिहार नेपाली समाजमा पारिवारिक मिलन, आपसी सद्भाव र सांस्कृतिक पहिचानका प्रतीक हुन्। यही महत्त्वलाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यसहित सिद्धलेक गाउँपालिका–४, बुङचुङस्थित आयाम इङ्लिस स्कुलले विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षक–शिक्षिकाले एकअर्कालाई दशैंको टीका र जमरा लगाइदिँदै दक्षिणा तथा शुभकामना साटासाट गरेका थिए। परम्परागत शैलीमा मनाइएको कार्यक्रममा दशैंको उल्लाससँगै नेपाली संस्कृति र संस्कारको झल्को देखिएको थियो।

पुस्तकमा पढेका चाडपर्वका विषयलाई व्यवहारमै अनुभव गराउने र विद्यार्थीलाई आफ्नो संस्कृति तथा परम्पराप्रति जानकार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो।

दशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुको महत्त्वसँगै चाडपर्वले परिवार र समाजमा एकता कायम गर्न खेल्ने भूमिकाबारे विद्यार्थीलाई जानकारी गराइएको विद्यालयकी प्रिन्सिपल ममिता अर्यालले बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यालय परिवारबीच आत्मीयता र आपसी सद्भाव बढाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले दशैं विशेष नृत्य प्रस्तुत गर्दै आफ्नो कला र प्रतिभा प्रदर्शन गरेका थिए। पढाइसँगै संस्कृति, सिर्जनशीलता र व्यवहारिक ज्ञानलाई पनि प्राथमिकता दिँदै आएको विद्यालयले विभिन्न चाडपर्वमा र्‍याली, नृत्य तथा सडक नाटकजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ।

आयाम इङ्लिस स्कुलमा हाल कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा नृत्य, तेक्वान्दो तथा खेलकुदका कक्षासमेत सञ्चालनमा छन्। कम्प्युटर ल्याब, पुस्तकालय, अतिरिक्त क्रियाकलापका आवश्यक सामग्री तथा दक्ष प्रशिक्षकको व्यवस्था रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो।

चाडपर्वलाई केवल उत्सवका रूपमा मात्र नभई संस्कृति, संस्कार र सामाजिक सम्बन्ध बुझ्ने अवसरका रूपमा प्रस्तुत गर्दै आयाम इङ्लिस स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मौलिक परम्पराको संरक्षणमा समेत जोड दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web