धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष तथा नेपाल गाउँपालिका महासंघकी केन्द्रीय सदस्य सीता गुरुङ चोदेन नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिला तर्फबाट १ हजार १३१ मतसहित विजयी हुनुभएको छ।
चोदेनले आदिवासी जनजाति महिला तर्फबाट सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनुभएको हो। उहाँको यो विजयसँगै नेत्रावती डबजोङ गाउँपालिकाको इतिहासमै नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्ने पहिलो महिला बन्नुभएको छ।
नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्षमा बिजय हुनुहुदासमेत उहाले पालिकामा सबैभन्दा बढि मत प्राप्त गर्नुभएको थियो ।स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गर्दै आउनुभएकी चोदेनले गाउँपालिकादेखि राष्ट्रिय राजनीतिक तहसम्म आफ्नो प्रतिनिधित्व स्थापित गर्नुभएको हो। स्थानीय सरकारमा निर्वाचित भएर जनतासँग प्रत्यक्ष रूपमा काम गरेको अनुभवसँगै नेपाल गाउँपालिका महासंघको केन्द्रीय सदस्यका रूपमा समेत उहाँले भूमिका निर्वाह गर्दै आउनुभएको छ।
राजनीतिक यात्राको सुरुवाती चरणमा कुनै ठूला नेताको राजनीतिक संरक्षण वा विशेष ‘ग्राउन्ड सपोर्ट’ बिना अघि बढ्नुभएकी चोदेनको यो सफलता स्थानीय तहबाट सुरु भएको राजनीतिक यात्राले राष्ट्रिय पार्टीको नेतृत्व तहसम्म बनाएको स्थानका रूपमा लिइएको छ। नेपाली कांग्रेसजस्तो ठूलो राजनीतिक दलको महाधिवेशनमा नेत्रावती डबजोङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै आदिवासी जनजाति महिला समूहबाट सर्वाधिक १ हजार १३१ मत प्राप्त गरी निर्वाचित हुनु उहाँको राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धि बनेको छ।
चोदेनको उम्मेदवारी महिला सहभागिता, आदिवासी जनजाति महिलाको प्रतिनिधित्व र स्थानीय तहमा काम गरिरहेका नेतृत्वलाई पार्टीको राष्ट्रिय संरचनासँग जोड्ने उद्देश्यसहित प्रस्तुत भएको थियो। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा हासिल गरेको अनुभवलाई पार्टीको नीति, संगठन र राष्ट्रिय तहका सवालसँग जोड्ने उहाँको प्रतिबद्धता रहेको छ।
निर्वाचनबाट विजयी भएपछि चोदेनले आफूलाई अमूल्य मत प्रदान गर्ने नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग, साथ र हौसला प्रदान गर्ने सम्पूर्णप्रति हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ।
उहाँले प्राप्त मतलाई व्यक्तिगत विजयभन्दा पनि आफूलाई विश्वास गर्ने कांग्रेसका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको विश्वास र जिम्मेवारीका रूपमा लिएको बताउँदै आगामी दिनमा उक्त विश्वासलाई सम्मान गर्दै महिला, आदिवासी जनजाति तथा स्थानीय तहका जनताका सवाललाई अझ प्रभावकारी रूपमा राष्ट्रिय तहमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
११३१ मतसहितको यो विजयसँगै सीता गुरुङ चोदेन नेत्रावती डबजोङ गाउँपालिकाबाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्ने पहिलो महिला बन्नुभएको छ।
