धादिङ । नीलकण्ठ नगरपालिका–५, देउरालीस्थित मनकामनादेवी आधारभूत विद्यालयको ४४औँ वार्षिकोत्सव विविध सिर्जनात्मक, मनोरञ्जनात्मक तथा खेलकुदसम्बन्धी कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा खेलभावनाको विकास गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको बिद्यालयका शिक्षक बिस्वराज मगरले जानकारी दिनुभएको हो ।
वार्षिकोत्सवका अवसरमा सियोधागो, म्युजिकल चियर, बेलुन फुटाइ, बेलुन ब्यालेन्स, हिसाब दौड, छात्र फुटबल तथा छात्रा फुटबललगायतका प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी सम्मान गरिएको थियो।
विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्नुका साथै आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। वार्षिकोत्सवले विद्यालय परिवारमा थप उत्साह र उमङ्ग सिर्जना गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समेत टेवा पुर्याएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, शिक्षक–कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। साथै, प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई बधाई दिँदै सहभागी सबैको उज्ज्वल भविष्यको कामना गरिएको छ।
४४ वर्षको गौरवशाली शैक्षिक यात्रा पूरा गरेको मनकामनादेवी आधारभूत विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
