धादिङ । नेत्रावती डबजोङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा माध्यमिक विद्यालयस्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम आज गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न प्रदर्शनीमा गाउँपालिकाभित्रका पाँचवटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। निरञ्जना माध्यमिक विद्यालय, मङ्गला देवी माध्यमिक विद्यालय, कुन्डला देवी माध्यमिक विद्यालय, चौतारा माध्यमिक विद्यालय र महेन्द्र बाराही माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूले तयार पारेका विभिन्न विज्ञान सामग्री तथा प्रयोगात्मक सामग्रीहरू प्रदर्शनीमा प्रस्तुत गरेका थिए।
प्रदर्शनीको मूल्यांकनका लागि जिल्लाबाट मूल्यांकनकर्ताहरूको समेत सहभागिता रहेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका सामग्रीको सिर्जनशीलता, प्रयोगात्मक पक्ष, वैज्ञानिक अवधारणा तथा प्रस्तुतीकरणलगायतका आधारमा मूल्यांकन गरिएको थियो।
मूल्यांकनमा महेन्द्र बाराही माध्यमिक विद्यालय प्रथम, निरञ्जना माध्यमिक विद्यालय द्वितीय र मङ्गला देवी माध्यमिक विद्यालय तृतीय भएका छन्। उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष ठाकुर गुरुङ, वडा नम्बर २ का वडाध्यक्ष मिनबहादुर तामाङ, वडा नम्बर ३ का वडाध्यक्ष सुरेश वाइबा गुरुङ र वडा नम्बर ५ का वडाध्यक्ष हरि अधिकारी लगायत गाउँपालिकाका कर्मचारी, शिक्षक, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सन्चालन शिक्षा शाखा प्रमुख सुशिला न्याङ्जोले गर्नुभएको थियो ।शिक्षा सहायक डोलमाया तामाङ लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
‘पढ्ने मात्र होइन, गरेर सिक्ने’ वातावरण
विज्ञान सामग्री प्रदर्शनीले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर सोच्ने, खोज्ने, प्रयोग गर्ने र आफ्नै सिर्जनशीलतामार्फत समाधान खोज्ने अवसर प्रदान गरेको छ।
यस्ता कार्यक्रमबाट विद्यार्थीमा वैज्ञानिक सोचको विकास हुनुका साथै आत्मविश्वास, प्रस्तुतीकरण क्षमता, अनुसन्धान गर्ने बानी, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने देखिन्छ।
विशेषगरी विद्यार्थीहरूले आफ्नै हातले विज्ञान सामग्री निर्माण गरेर त्यसको प्रयोग र कार्यप्रणालीबारे प्रस्तुत गर्दा सिकाइ अझ व्यवहारिक र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। विद्यालयबीचको यस्तो प्रतिस्पर्धात्मक कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनुका साथै एक विद्यालयका विद्यार्थीले अर्को विद्यालयका विद्यार्थीबाट सिक्ने वातावरणसमेत निर्माण गर्छ।
विद्यालयको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव
शिक्षालाई केवल परीक्षा र पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक तथा सिर्जनात्मक गतिविधिसँग जोड्न सकिएमा विद्यार्थीको सिकाइ उपलब्धि थप प्रभावकारी बनाउन सकिने शिक्षा क्षेत्रका सरोकारवालाहरूको बुझाइ छ।
स्थानीय तहबाट आयोजना हुने यस्ता कार्यक्रमले विद्यालयमा प्रयोगात्मक सिकाइ, नवप्रवर्तन र अनुसन्धानको संस्कार विकास गर्न सहयोग पुर्याउँछ। साथै विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी उनीहरूलाई प्रोत्साहन गर्ने अवसरसमेत प्रदान गर्छ।
विज्ञान सामग्री प्रदर्शनीमा उत्कृष्ट भएका विद्यालयलाई पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गर्नुले विद्यार्थीको मेहनत र सिर्जनशीलताको कदर हुनुका साथै आगामी दिनमा अझ नयाँ र उपयोगी सामग्री निर्माण गर्न उनीहरूलाई प्रेरणा मिल्ने देखिन्छ।
यस प्रकारका शैक्षिक गतिविधिलाई निरन्तरता दिन सकेमा नेत्रावती डबजोङका विद्यालयहरूमा ‘किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान’ र ‘पढ्ने मात्र होइन, गरेर सिक्ने’ शिक्षण संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

