धादिङ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा जनसंवाद तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
अभियानअन्तर्गत आज नेत्रावती डब्जोङ गाउँपालिका आइपुगेका रास्वपाका माननीय जगदिश खरेल,माननीय डा. राम लामा, केन्द्रीय सदस्य सुशिला कार्की, नेत्रावती डब्जोङ गाउँपालिका रास्वपा सभापति उत्तमकुमार अधिकारी लगायत नेता तथा कार्यकर्ताहरूको सहभागितामा वडा नम्बर ४ र ३ हुँदै टिकाटुङसम्म पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरिएको हो।
कार्यक्रमका क्रममा स्थानीय नागरिकसँग जनताका मूलभूत समस्या, सरकारले गरेका काम–कारबाही, सरकारप्रति नागरिकको धारणा तथा अपेक्षा लगायत समसामयिक विषयमा छलफल गरिएको थियो। साथै स्थानीयस्तरमा देखिएका विकास निर्माण, सेवा प्रवाह तथा नागरिकका दैनिक समस्याबारे समेत नागरिकको प्रतिक्रिया लिइएको थियो।
सो क्रममा गाउँपालिकाका स्थानीय नागरिक तथा रास्वपाका नेता–कार्यकर्ताहरूले आफ्ना धारणा, सुझाव तथा अपेक्षा व्यक्त गरेका थिए। नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र आवाज सुन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको रास्वपाका नेताहरूले बताएका छन्।
यसै क्रममा नेत्रावती डब्जोङ गाउँपालिकामा पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशप्रसाद जोशीले आफ्नो कार्यकक्षमा रास्वपाका नेता तथा टोलीलाई स्वागत गर्दै समसामयिक विषयमा छलफल गर्नुभएको थियो।
स्थानीय सरकारको सेवा प्रवाह, विकासका प्राथमिकता तथा नागरिकका अपेक्षालगायत विषयमा भएको छलफलले जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र नागरिकबीचको संवादलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।
‘हामी आउँदैछौँ’ अभियानमार्फत रास्वपाले जनतामाझ पुगेर उनीहरूको वास्तविक अवस्था, समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा बुझ्ने तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य लिएको जनाएको छ।

