चरङ्गेफेदि जाने सडक दयनीय अवस्था, आजदेखि डोजर चल्ने


  • दिव्यदर्शन
  • शनिबार, असोज १७ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–५, चराङ्गे फेदी जाने सडकको अवस्था अत्यन्तै नाजुक रहेको पाइएको छ। सडकमा ढुंगा, झाडी तथा खाल्डाखुल्डीका कारण मोटरसाइकलसमेत आवतजावत गर्न कठिन हुने अवस्था रहेको स्थानीयले बताएका छन्।

स्वर्गीय कुलकुमारी श्रेष्ठको निधनपछि असोज १६ गते शोकसन्तप्त परिवारमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न पुगेको समाजसेवी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रावती डबजोङ गाउँपालिका सभापति उत्तम कुमार अधिकारीसहितको टोलीले सडकको दयनीय अवस्था प्रत्यक्ष देखेको हो।

श्रद्धाञ्जलीका लागि जाने आफन्त, इष्टमित्र तथा स्थानीयलाई आवतजावतमा समस्या भएपछि अधिकारीले नेत्रावती डबजोङ गाउँपालिका–५ का वडाध्यक्ष हरि अधिकारीसँग फोनमार्फत सडकको अवस्थाबारे जानकारी गराउँदै तत्काल बाटो सहज बनाउन सहजीकरण गर्नुभएको थियो।

त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष दर्पण अधिकारीलाई वडा कार्यालयमै पुगेर भेटी चराङ्गे फेदीतर्फ आउने बाटोसमेत सरसफाइ गरी स्थानीयको आवतजावत सहज बनाउन आग्रह गरिएको जनाइएको छ।

अधिकारीको पहलपछि आज असोज १७ गतेदेखि डोजर परिचालन गरी दुवै तर्फका अवरुद्ध तथा जीर्ण सडक सरसफाइ गर्ने तयारी भएको बताइएको छ।

स्थानीयको दैनिक आवतजावतसँगै शोक तथा आपत्कालीन अवस्थामा समेत सहज पहुँच आवश्यक रहेकाले सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने पहल गरिएको अधिकारीले बताउनुभएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web