धादिङ । धादिङमा रहेको भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेख्य प्रगति हासिल गरेको जनाउँदै सदस्यहरूलाई ८.११ प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिइएको छ।
सभामा आर्थिक वर्ष २०८२/०८३ को प्रगति तथा आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो। यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटसमेत पेश गरी सदस्यहरूबाट आवश्यक सुझाव संकलन गरिएको थियो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नीलकण्ठ बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माले पछिल्ला वर्षहरूमा भैरवी साकोसले हासिल गरेको प्रगति लोभलाग्दो र उदाहरणीय रहेको बताउनुभयो। सहकारीले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उहाँले भैरवीले वित्तीय अनुशासन, उद्यमशीलता प्रवर्द्धन तथा सदस्य सेवाका क्षेत्रमा राम्रो काम गरेको उल्लेख गर्नुभयो।
शर्माले संस्थाको सदस्यता विस्तार, युवाको सहभागिता, एक वर्षभन्दा बढी समयदेखि भाका नाघेको कर्जा असुली, उत्तराधिकारी योजना तथा उद्यमशीलता प्रवर्द्धन लगायतका विषयमा थप ध्यान दिन सुझाव दिनुभयो।
त्यसैगरी, संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठले सदस्यलाई ८.११ प्रतिशत प्रतिफल दिन सक्नु संस्थाको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उक्त सफलताको श्रेय सञ्चालक समिति, कर्मचारी, सल्लाहकार तथा सम्पूर्ण सदस्यहरूको सामूहिक मेहनतलाई जाने उहाँको भनाइ थियो।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा सदस्यहरूलाई उद्यमी बनाउँदै आर्थिक उन्नतितर्फ अघि बढाउन सहकारीले थप लगानी र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभामा संस्थाको आगामी कार्यदिशा, वित्तीय अवस्था, सदस्य सेवा तथा उद्यमशीलता विकासका विषयमा समेत छलफल गरिएको थियो।
