धादिङ, भदौ २२ गते। रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएकाप्रति नेत्रावती डबजोङ गाउँपालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ।
गाउँपालिकाको कार्यालयमा सोमबार राष्ट्रिय झण्डा आधा झुकाई मृतकप्रति सम्मान व्यक्त गरिएको हो। त्यस अवसरमा गाउँपालिका पदाधिकारी, कर्मचारी तथा उपस्थित अन्य व्यक्तिहरूले एक मिनेट मौन धारण गरी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममार्फत बाढीमा परी ज्यान गुमाउनेप्रति सम्मान तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको गाउँपालिकाले जनाएको छ। साथै विपद्को यस दुःखद् घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाइएको छ।

