डबजोङ दरबार नागरिक समाजको मानवीय पहल : बाढीपीडितलाई राहत वितरण


  • दिव्यदर्शन
  • शुक्रबार, भाद्र १९ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले डबजोङ दरबार नागरिक समाजले राहत वितरण गरेको छ। नेत्रावती डबजोङ गाउँपालिका–३ का वडाध्यक्ष सुरेश वाइबाअर्ग्यानिक टी हब धादिङका सञ्चालक आशिष गुरुङको विशेष पहलमा राहत संकलन तथा वितरण गरिएको हो।

बाढीका कारण प्रभावित तथा विपद्मा परेका परिवारलाई सहयोग गर्न डबजोङ दरबार नागरिक समाजका युवा तथा स्थानीय नागरिकहरूले गाउँघरमै पुगेर स्वेच्छिक रूपमा नगद सहयोग संकलन गरेका थिए। स्थानीय नागरिकबाट संकलित रकमबाट खाद्यान्न तथा दैनिक उपभोगका आवश्यक राहत सामग्री खरिद गरी प्रभावित परिवारसम्म पुर्‍याइएको आयोजकले जनाएको छ।

आज भदौ १९ गते त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरिएको हो। राहत सामग्रीमा खाद्यान्नलगायत दैनिक जीवनमा आवश्यक सामग्री समावेश गरिएको थियो। 

बाढीपछि कठिन अवस्थामा रहेका नागरिकलाई सरकारी निकायसँगै स्थानीय संघसंस्था, युवा तथा नागरिकस्तरबाट समेत सहयोग आवश्यक रहेको भन्दै डबजोङ दरबार नागरिक समाजले मानवीय सेवाको भावनाबाट अभियान सञ्चालन गरेको हो।

राहत वितरणका क्रममा “आफ्नो गाउँका नागरिकलाई परेको दुःखमा गाउँकै नागरिक एकजुट भएर साथ दिनुपर्छ” भन्ने भावना देखिएको थियो। स्थानीय युवादेखि सर्वसाधारणसम्मले आफ्नो क्षमताअनुसार सहयोग गरेर अभियानलाई सफल बनाउन भूमिका खेलेका छन्।

भोटेकोशी–त्रिशूली बाढीले धादिङसहित नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि पनि नदी आसपासका क्षेत्रमा जोखिम कायम रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web