धादिङ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएका धादिङको गजुरी गाउँपालिका–५ का १२९ घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट प्रभावित परिवारले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका बेला उनीहरूलाई सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको हो।
धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार तथा श्रम संस्कृति पार्टी धादिङका जिल्ला सचिव प्रलाद सिलवालको पहल र निर्पेश मिजारको समन्वयमा राहत सामग्री वितरण गरिएको हो।
Days For Girls Nepal र Eternal Hope Nepal को सहयोग तथा गजुरी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लामिछानेको रोहबरमा आइतबार गलौंदी बजार, बाङ्गे बजार र पोखरे खोलाका बाढीपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
महिलाका लागि धुन मिल्ने प्याड, डिस्पोजेबल प्याड, साबुन, रुमाल, टुथपेस्ट, टुथब्रस, काइँयो, प्यान्टी, कपडाको मास्क र क्यारी पाउचलगायत अत्यावश्यक सामग्री समेटिएको एक–एक प्याकेट प्रत्येक परिवारलाई वितरण गरिएको थियो। साथै, बाढी प्रभावित परिवारलाई ओढ्ने कम्बलसमेत उपलब्ध गराइएको छ।
अति आवश्यक परिवारलाई ८१ थान त्रिपाल समेत वितरण गरिएको आयोजकले जनाएको छ।
राहत सामग्रीबाट गलौंदी बजारका ८१, बाङ्गे बजारका ३७ र पोखरे खोलाका ११ गरी कुल १२९ घरधुरी लाभान्वित भएका छन्।
बाढीपछि आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिनाइ भोगिरहेका प्रभावित परिवारलाई राहत सामग्रीले तत्कालका लागि केही सहयोग पुगेको छ। स्थानीयले विपद्को समयमा प्राप्त सहयोगले दैनिक जीवनयापनमा राहत मिलेको बताएका छन्।

