धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाले विपद्पछि हुनसक्ने कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रण गर्न सल्यानटार बजार क्षेत्रका खाद्यान्न तथा अन्य पसलहरूमा अनुगमन गरेको छ।
गाउँपालिका उपाध्यक्ष देवराज धरेल र प्रमुख प्रशासकीय अधिकृत वीरसिंह भण्डारीसहितको अनुगमन टोलीले विभिन्न पसलमा पुगेर वस्तुको मूल्य, बिक्री अवस्था तथा बजारको समग्र अवस्थाबारे जानकारी लिएको हो।
विपद्को अवस्थालाई मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य बढाउने तथा उपभोक्तामाथि अनुचित व्यवहार हुन नदिन बजार अनुगमनलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले अन्य वडाहरूमा समेत बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। अनुगमनसँगै व्यवसायीलाई प्रचलित मूल्यसूची कायम गर्न र उपभोक्तालाई सहज रूपमा आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ।
