विपद्मा ज्वालामुखीका कर्मचारीको साथ : एक साताको तलब सहायता कोषमा


  • दिव्यदर्शन
  • बुधबार, भाद्र १० २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भइरहेका बेला धादिङको ज्वालामुखी गाउँपालिकाका कर्मचारीहरूले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्।

ज्वालामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहका अनुसार बाढीबाट भएको क्षति न्यूनीकरण तथा प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको एक हप्ताको तलब प्रधानमन्त्री सहायता कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत साहले विपद्को यो कठिन घडीमा पीडित नागरिकको साथमा उभिनुपर्ने दायित्व महसुस गर्दै कर्मचारीहरूको तर्फबाट उक्त सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई तत्काल राहत र सहयोग आवश्यक भइरहेका बेला ज्वालामुखी गाउँपालिकाका कर्मचारीहरूको यो पहलले ‘विपद्मा सबैको साथ, सहयोग र सहकार्य आवश्यक छ’ भन्ने सकारात्मक सन्देश दिएको छ।

कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट गरेको यो सहयोगले प्रभावित नागरिकप्रति ऐक्यबद्धता मात्र प्रकट गरेको छैन, विपद्को समयमा मानवीयता, सहकार्य र सामाजिक जिम्मेवारीको भावना अझ बलियो बनाउनसमेत प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web