धादिङ – नेत्रावती डबजोङ गाउँपालिका–३ सेमजोङमा ९४औँ तामाङ पहिचान दिवस भव्य रुपमा सम्पन्न भएको छ।

‘तामाङ भाषा, धर्म, संस्कृति, इतिहास र पहिचान हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा तामाङ भाषा, संस्कृति र मौलिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले तामाङ समुदायको भाषा, संस्कृति तथा ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षणमा स्थानीय तहले प्राथमिकता दिएको बताउनुभयो। विद्यालय तहबाटै तामाङ भाषा र लिपिको अध्ययन–अध्यापनलाई अघि बढाइने उहाँले जानकारी दिनुभयो।



कार्यक्रमका सभाध्यक्ष तथा नेत्रावती डबजोङ–३ का वडा अध्यक्ष सुरेश वाइबाले तामाङ समुदायले पहिचान लुकाएर बाँच्नुपरेको स्मरण गर्दै अहिले प्राप्त अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभयो। आफु तामाङ हो र तामाङ हुनुमा गर्व गर्नुपर्ने उहाँले बताउनुभयो। नयाँ पुस्तालाई भाषा, संस्कार, धर्म, कला र इतिहाससँग जोड्नुपर्ने उहाँको जोड थियो।
कार्यक्रमका प्रमुख अतिथि डम्बरबहादुर तामाङले समुदायको विकास र पहिचान संरक्षणका लागि एकता तथा आपसी सद्भाव आवश्यक रहेको बताउनुभयो। दिवसका अवसरमा म्हेन्दोमाया, साइकोले, बोमसाङ, लाङ्पो तप्पालगायतका सांस्कृतिक प्रस्तुति, मानेदोरा नाच तथा मौलिक भेषभूषासहित झाँकी प्रदर्शन गरिएको थियो। साथै खुला दौड प्रतियोगितासमेत आयोजना गरिएको थियो। कार्याक्रममा विभिन्न उमेर समूहका महिला म्याराथुन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो कार्यक्रम नेत्रावती डबजोङ–३ वडा कार्यालयको आयोजनामा तथा भूतपूर्व सैनिक समाज नेत्रावती डबजोङको समन्वय र सहकार्यमा सम्पन्न भएको हो। स्थानीय तहमा तामाङ पहिचान दिवस पहिलोपटक आयोजना गरिएको वडा अध्यक्ष वाइबाले बताउनुभयो ।

नेत्रावती डबजोङ–३ वडा कार्यालयको आयोजना तथा भूतपूर्व सैनिक समाज नेत्रावती डबजोङको समन्वय र सहकार्यमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मिनबहादुर तामाङ, समाजसेवी प्रेमबहादुर तामाङ, स्थानीय तामाङ अगुवा, पूर्व जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।
