गजुरीमा जनस्वास्थ्य तथा रोगको अवस्थाबारे सरोकारवाला र सञ्चारकर्मीसँग अन्तर्क्रिया सम्पन्न


  • दिव्यदर्शन
  • आइतबार, असार २१ २०८३
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ /-

गजुरी गाउँपालिकामा जनस्वास्थ्य कार्यालय धादिङमार्फत सञ्चालित कार्यक्रम तथा विभिन्न रोगहरूको वर्तमान अवस्थाबारे सरोकारवाला निकाय र सञ्चारकर्मीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद जोशी उपस्थित हुनुहुन्थ्यो भने सभाध्यक्षता गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुराल ले गर्नुभएको थियो। यस अवसरमा वडा नं. १ का वडा अध्यक्ष तारानाथ भण्डारी र वडा नं. ७ का वडा अध्यक्ष बद्रि प्रसाद जमकट्टेल को विशेष आतिथ्यता रहेको थियो।

अन्तर्क्रियामा जनस्वास्थ्य कार्यालय धादिङले जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रम, रोग नियन्त्रण तथा रोकथामका प्रयास, खोप सेवा, सरसफाइ तथा जनचेतनामूलक गतिविधिबारे जानकारी गराएको थियो। साथै हाल देखापरिरहेका विभिन्न संक्रामक तथा नसर्ने रोगहरूको अवस्था, चुनौती र समाधानका उपायबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम र स्थानीय तहबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।आयोजकका अनुसार यस्ता कार्यक्रमले जनस्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही रूपमा पुर्‍याउन र रोग नियन्त्रणका प्रयासलाई समुदायस्तरसम्म विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web