धादिङ, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हात्तीपाइले ९लिम्फाटिक फाइलेरियासिस० बाट प्रभावित बिरामीहरूलाई लक्षित गर्दै स्वयं हेरचाह सम्बन्धी अभिमुखीकरण तथा आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले हात्तीपाइले रोगको दीर्घकालीन व्यवस्थापन, प्रभावित अंगको दैनिक सरसफाइ, नियमित व्यायाम, छालाको उचित हेरचाह तथा संक्रमणबाट बच्ने उपायबारे सहभागीलाई जानकारी गराएका थिए। साथै, बिरामीहरूले घरमै प्रभावकारी रूपमा स्वयं हेरचाह गर्न सकून् भन्ने उद्देश्यले आवश्यक सामग्रीसमेत वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले हात्तीपाइलेबाट प्रभावित बिरामीहरूमा स्वयं हेरचाहको अभ्यासलाई प्रवर्द्धन गर्दै रोगका कारण हुन सक्ने जटिलता न्यूनीकरण, संक्रमण नियन्त्रण तथा जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायका सरोकारवालाको सहभागितामा सम्पन्न कार्यक्रमले हात्तीपाइले रोगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै प्रभावित व्यक्तिहरूलाई नियमित स्वास्थ्य हेरचाहमा सक्रिय बनाउन सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
