नेत्रावती डबजोङ गाउँपालिकामा खेलकुदको विकास र युवा सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले १६ औँ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ।

छार वाका राहा युवा क्लबका अध्यक्ष कुमार गुरुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, उपाध्यक्ष सितामाया चोदेन विशेष अतिथि रहनुभएको उक्त कार्यक्रममा प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष ठाकुर गुरुङ, वडा नं. ३ का वडाध्यक्ष सुरेश वाइबा, ज्यम्पल दोर्जे डुबखाङ गुम्बाका संस्थापक अध्यक्ष धनसुर वाइबा लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ उन्मुख गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले गाउँपालिकामा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने धारणा राख्नुभयो। विशेषगरी फुटबलजस्तो लोकप्रिय खेलमार्फत स्थानीय प्रतिभाहरूलाई उजागर गर्ने र उनीहरूलाई अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो।

प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। खेलकुद गतिविधिले गाउँपालिकामा उत्साह थप्नुका साथै स्थानीय स्तरमै खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
