धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ गैरा-वाकामा १६औँ वाका कप तथा चौथो अध्यक्ष कप 9A साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी वि.सं. २०८२ चैत २१ गतेदेखि सुरु भई २०८३ बैशाख १ गते सम्पन्न हुने आयोजक छार वाका राहा युवा क्लबले जनाएको छ। प्रतियोगितामा विजेता टिमले नगद रु. २ लाख २ हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन्। सेमीफाइनलमा पुग्ने टिमलाई सान्त्वना स्वरूप रु. २० हजार प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु. ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई फुटबल जर्सी दिइनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले वि.सं. २०८२ चैत १९ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क रु. १० हजार १०० र डिपोजिट शुल्क रु. ३ हजार तोकिएको छ। प्रत्येक टिममा ९ खेलाडी मुख्य र ५ जना अतिरिक्त रहने व्यवस्था गरिएको छ भने एक जना टिम म्यानेजर र एक जना कोच अनिवार्य गरिएको छ। प्रतियोगिताको टाइसिट चैत २० गते सार्वजनिक गरिनेछ। खेलहरू राष्ट्रिय मान्यता प्राप्त एन्फा रेफ्रीमार्फत सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता समापनकै दिन नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। मुख्य प्रायोजक नेत्रावती डबजोङ गाउँपालिका रहेको उक्त प्रतियोगिताबारे थप जानकारीका लागि आयोजकले विभिन्न सम्पर्क नम्बरसमेत उपलब्ध गराएको छ। साथै, पुरस्कार रकममा सरकारी नियमअनुसार कर कटौती गरिने जनाइएको छ।
