धादिङ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अब १६ दिन मात्रै बाँकी रहँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन आयोग ले सोमबारदेखि फागुन १८ गतेसम्म बृहत् जनसभा गर्न अनुमति दिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। यसअघि घरदैलो र साना सभामार्फत मतदातासँग भेटघाट गरिरहेका उम्मेदवारहरू अब जनसभामार्फत आफ्ना एजेन्डा सार्वजनिक गर्न थालेका छन्।
देशभर १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८४ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये एक हजार १८७ जना स्वतन्त्र उम्मेदवार हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायत ६८ दल चुनावी प्रतिस्पर्धामा छन्।
यता धादिङमा पनि चुनावी गतिविधि बढ्दै गएको छ। धादिङका प्रतिनिधि सभा क्षेत्रहरूमा प्रमुख दलका उम्मेदवारहरू घरदैलो, कोणसभा र युवा भेला गर्दै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। ग्रामीण भेगदेखि सदरमुकाम धादिङबेसीसम्म चुनावी चहलपहल बढेको देखिन्छ। विकास निर्माण, सडक विस्तार, खानेपानी, रोजगारी र कृषि आधुनिकीकरणजस्ता स्थानीय मुद्दा उठाउँदै उम्मेदवारहरूले मत मागिरहेका छन्।
शीर्ष नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित भइरहँदा धादिङका स्थानीय नेता तथा उम्मेदवारहरू पनि मतदाता भेटघाटमा सक्रिय बनेका छन्। चुनाव नजिकिँदै जाँदा जिल्लामा आचारसंहिता पालना गरी बिभिन्न अन्तरक्रिया कार्यक्रमहरू थप बढ्ने अपेक्षा गरिएको छ।
