धादिङ:-धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका–३, सेमजोडस्थित ऐतिहासिक डबजोङ दरबार परिसरमा प्रथम ऐतिहासिक डबजोङ दरबार मेला–२०८२ आयोजना हुने भएको छ। डबजोङ दरबारको अन्तिम तामाङ वाइबा राजा म्हेमे ताकुर र मम सिलिक्मोको सम्झनामा आयोजना हुन लागेको यस मेलामा सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्व बोकेका विविध कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।
मेलाको अवसरमा वाइबा राजाको मुर्ति शिलान्यास कार्यक्रम पनि गरिनेछ। साथै २८६२ औं सोनाम ल्होछार (त ल्हो) को शुभ अवसर पारेर आयोजना गरिने यस कार्यक्रममा तामाङ समुदायको मौलिक कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतीहरू देख्न पाइनेछ।
मेलामा चर्चित तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा सहभागी हुने कलाकारहरूमा युवि मंङग्रेसा, शैलप वाइबा, सन्दिप स्याम्चेन, रितु वाइबा, सुनिता वाइबा, राजु वाइबा, रविन घले, राम गोम्जा, रामकृष्ण वाइबा, कान्छा ब्लेन्देन, विबश वाइबा, दुर ब्रेभ मम्बा र मिने गल्देन रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा पूर्व कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनको उपस्थिति रहनेछ।
मेला २०८२ साल माघ १७गते, बिहान ११ः०० बजेदेखि सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमको आयोजना डबजोङ दरबार संरक्षण तथा प्रवर्द्धन समितिले गरेको हो। समितिका अनुसार यस मेलाको मुख्य उद्देश्य ऐतिहासिक डबजोङ दरबारको संरक्षण, प्रवर्द्धन तथा तामाङ वाइबा राजवंशको इतिहासलाई भावी पुस्तासम्म पुर्याउनु रहेको छ।
स्थानीय बासिन्दा, संस्कृति प्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई ऐतिहासिक तथा सांस्कृतिक महत्वको यस मेलालाई सफल बनाउन आयोजकले आग्रह गरेको छ।
