धादिङ ।सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीस्थित आयाम इङ्लिस स्कुलमा विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले विज्ञान तथा सामाजिक सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ।
आज शुक्रबार विद्यालयको वार्षिक कार्ययोजना अन्तर्गतको कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, प्रयोगात्मक सीप र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। प्रदर्शनीमा विद्यार्थीहरूले आफैं तयार पारेका विभिन्न विज्ञानसम्बन्धी मोडेल, परम्परागत तथा कलात्मक सामग्री सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए।
प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर ल्याई व्यवहारिक र जीवनोपयोगी ज्ञानतर्फ उन्मुख गराउने बताउनुभयो। विद्यार्थीहरूले तयार पारेका सामग्रीमा उनीहरूको सोच्ने क्षमता, सिर्जनशीलता र आत्मविश्वास स्पष्ट रूपमा देखिएको उहाँको भनाइ थियो।
कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य भगवान भट्टले विद्यालयले गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि गरिरहेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने यस्ता कार्यक्रमले समग्र शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास कोइरालाले विद्यालय सधैं सिर्जनात्मक तथा व्यवहारिक शिक्षामा जोड दिँदै आएको बताउँदै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यबाट मात्रै यस्ता कार्यक्रम सफल हुने धारणा व्यक्त गर्नुभयो।
प्रदर्शनीमा विज्ञान विषय अन्तर्गत सौर्य ऊर्जा, वातावरण संरक्षण, मानव शरीरका संरचना, पानी शुद्धिकरण प्रणाली जस्ता उपयोगी मोडेलहरू प्रस्तुत गरिएको थियो। यस्तै सामाजिक विषय अन्तर्गत नेपाली संस्कृति, भूगोल, ऐतिहासिक सम्पदा र सामाजिक सचेतनामूलक सामग्रीहरूले दर्शकहरूको ध्यान आकर्षित गरेका थिए।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने प्रदर्शनीलाई अझ आकर्षक बनाउन विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूले विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए।
यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरूले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र व्यवहारिक ज्ञानको विकास गर्दै गुणस्तरीय शिक्षाको दिशामा विद्यालयलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
