धादिङ,धादिङ अस्पतालको ४९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अस्पताल परिसरमा आज बुधबार आयोजित उक्त कार्यक्रममा ५८ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा धादिङ अस्पतालद्वारा आयोजना गरिएको कार्यक्रममा ३१ जना पुरुष र २७ जना महिलाले रक्तदान गरेको धादिङ अस्पतालकी सूचना अधिकारी अस्मिता कटुवालले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, स्थानीय नागरिक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सेवाभावना भएका युवायुवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अस्पतालका निमित्त अस्पताल निर्देशक डा.त्रिभुवन चन्द झाले रक्तदान जस्तो जीवनदायी कार्यमा उत्साहजनक सहभागिता देखिनुले आपतकालीन अवस्थामा बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

कार्यक्रमका क्रममा अस्पताल व्यवस्थापनले नियमित रक्त अभावको समस्यालाई मध्यनजर गर्दै सबै स्वस्थ नागरिकलाई समय–समयमा रक्तदान गर्न आग्रह गरेको थियो।धादिङ अस्पतालले आगामी दिनहरूमा पनि स्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै बार्षिक उत्सवकै अवसरमा बिभिन्न क्रियाकलापहरु फुटबल,दौड,बुद्धिचाल,हाजिरी जवाफ जस्ता प्रतियोगिताहरु,अस्पताल परिसर सरसफाई,दिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरेका छन ।
केही तस्बिरहरुः




Photo by:Asmita Katuwal
