काठमाडौँ, मङ्सिर २१ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई थप तीव्र पारेको छ। निर्वाचन अब ८८ दिन मात्र बाँकी रहँदा आयोगले विभिन्न कार्यसूची सार्वजनिक गर्दै कामलाई गति दिएको छ।
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले आवेदन दिने प्रक्रिया औपचारिक रूपमा सुरु भएका छन्। आयोगले बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म आवेदन दिन समय तोकेको छ। यसरी प्राप्त हुने आवेदनको सूची मङ्सिर २४ गते प्रकाशित गरिनेछ।
आगामी पुस १३ र १४ गते दलहरूले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची (Closed List) पेस गर्नुपर्नेछ। त्यस्तै, माघ ३० गते समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरिने कार्यक्रम छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ कुल ११० सदस्य निर्वाचित गर्ने व्यवस्था छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभाको एक महत्त्वपूर्ण हिस्सा हो।
प्रत्यक्ष प्रणालीका लागि माघ ६ गते उम्मेदवार मनोनयनपत्र दर्ता हुने छ भने सोही दिन प्रारम्भिक सूची प्रकाशित गरिनेछ। माघ ७ गतेसम्म विरोध उजुरी दिने समय दिइनेछ। माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक हुनेछ।
यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली सार्वजनिक गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले पनि आन्तरिक तयारीलाई तीव्र बनाएका छन्। प्रतिनिधिसभा निर्वाचनका सबै प्रक्रिया नियमानुसार सम्पन्न गर्न आयोगले व्यवस्थापन र तयारीलाई निरन्तरता दिएको जनाएको छ।
