हेटौँडा — हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेका अतिक्रमित घर तथा टहरा हटाउने कार्य तीव्र रूपमा सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानैदेखि महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तार अभियान अघि बढाएकाे हो। राजमार्गको दुबै तर्फ केन्द्र रेखादेखि २५–२५ गज भित्र परेका स्थायी तथा अस्थायी संरचना क्रमशः हटाइँदै छन्।
सडक विस्तारका लागि डिभिजन कार्यालयले झण्डै ८ वटा डोजर र स्काभेटर परिचालन गरेको छ। यी मेसिनमार्फत विशेष गरी बुद्धचोकदेखि सुमार्गी कम्प्लेक्स आसपासका संरचना भत्काइने काम भइरहेको छ। सोसँगै बुद्धचोकदेखि चौकीटोल क्षेत्रसम्मका अतिक्रमित घर तथा टहरा पनि धमाधम भत्काइँदै छन्।
यसअघि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गर्दै राजमार्ग र राजपथको सडकसीमा भित्र पर्ने घर–टहरा तथा अन्य संरचना १५ दिनभित्र स्वयं हटाउन अल्टिमेटम दिएको थियो। तर तोकिएको समयावधिमा अधिकांश संरचना नहटाएपछि डिभिजन कार्यालयले बलपूर्वक हटाउने प्रक्रिया सुरू गरेको हो।राजमार्ग विस्तारको कामसँगै बजार क्षेत्रमा भारी भीडभाड र सडक क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ। यता संरचना भत्काइएका स्थानीयवासी भने क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाको माग गर्दै आन्दोलन र असन्तोष व्यक्त गर्दै आएका छन्।सडक डिभिजन कार्यालयले आगामी केही दिनसम्म यो कार्य निरन्तर चल्ने जनाएको छ।
photo:gorkharpatraonline
