मुस्ताङ — हालसालै बढिरहेको कठ्याङ्ग्रिने चिसोसँगै माथिल्लो मुस्ताङको जनजीवन अत्यधिक प्रभावित बन्दै गएको छ। विशेषगरी बिहान र बेलुकीको समयमा तापक्रम झन्डै माइनस १५ डिग्री सम्म झर्ने भएकाले स्थानीय बासिन्दादेखि सुरक्षा निकायका कर्मचारी र सरकारी सेवामार्फत काम गर्ने कर्मचारीको दैनिकी सामान्य क्रममा सञ्चालन गर्न कठिन बनेको छ।
दिउँसो घाम लाग्दा केहीबेर न्यानो महसुस भए पनि घरभित्र चिसो झनै कठोर हुने गरेको स्थानीयले बताइरहेका छन्। लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार चिसो यति बढेको छ कि घरघरको धाराबाट झर्ने पानी, सिँचाइका कुलो तथा अन्य पानी बहने स्थानहरू सबैजसो जम्ने गरेको छ।
चिसो बढेसँगै स्थानीयबासीले दैनन्दिन कामकाजमा ठूलो कठिनाइ भोगिरहेका छन्। पशुपालन, सिँचाइ, घरायसी कामदेखि विद्यालय तथा कार्यालयको गतिविधि समेत प्रभावित भएका छन्।
त्यस्तै, अत्यधिक चिसोका कारण लोमान्थाङ क्षेत्रमा पनि मानिसहरू बेसीतर्फ झर्न थालेको जानकारी स्थानीय पर्यटन व्यवसायी राम गुरुङले दिनुभयो। उनका अनुसार पर्यटक कम आउने, होटल तथा पर्यटक–सम्बन्धी व्यवसाय सुस्ताउने तथा कठ्याङ्ग्रिने हावापानीसँग जुध्न नसकी धेरै घरधुरीले अस्थायी रूपमा तल्लो क्षेत्र जान थालेका छन्।स्थानीय निकायले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन, सम्भव भएसम्म न्यानो कपडा तथा हीटरको प्रयोग गर्न र आगलागीबाट बच्न सावधानी पालना गर्न आग्रह गरेको छ।
