धान्यपूर्णिमा र योमरी पूर्णिमा आज देशभर विभिन्न धार्मिक विधि र सांस्कृतिक उल्लाससँगै मनाइँदै


  • दिव्यदर्शन
  • बिहिबार, मंसिर १९ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ – मंसिर शुक्ल पूर्णिमाका अवसरमा आज देशभर धान्यपूर्णिमा पर्व मनाइँदै छ। मंसिरमा भित्र्याइएको नयाँ धानको विधिपूर्वक पूजा–आजासहित दान गरी समृद्धिको कामना गर्ने परम्परा अनुसार विभिन्न समुदायहरूमा विशेष विधि सम्पन्न गरिँदैछ। धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवी–देवताका नाममा पूजा गरी नयाँ धान कुटेर तयार गरिएको चामलबाट सेल, बाबर, पुरी, मालपुवाजस्ता परिकार अर्पण गर्ने चलन रहेको छ।यसै अबसरमा धादिङ जिल्ला सदरमुकाम धादिङबेशीका नेवार समुदायले पनि बीजबजारमा योमरी खाँदै पर्व मनाइएको छ ।

धान्यपूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा आज मेला लाग्ने परम्परा अनुसार भक्तजनहरूको भीड बढ्ने अपेक्षा गरिएको छ।

यसै दिन नेवार समुदायले आफ्नो प्रमुख पर्व योःमरि पूर्णिमा (योमरी पुन्हि) उत्साहका साथ मनाइरहेका छन्। नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिल प्रयोग गरी बनाइने परिकार योमरी यस चाडको मुख्य आकर्षण मानिन्छ। नेवार समुदायले धान भण्डारण गरिने भकारी एवं कोठीमा विशेष पूजा गरी अन्नसम्बन्धी देवताप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा छ।

धान्यपूर्णिमा र योमरी पूर्णिमाले वर्षभर भरिभराउ अन्न, समृद्धि र सुख–शान्तिको कामना गर्दै कृषि परम्परा तथा सांस्कृतिक पहिचानलाई झल्काउने महत्वपूर्ण पर्वका रूपमा आज व्यापक रूपमा मनाइँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web