मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, पर्सि शुक्रबार साँझसम्म दाबी पेश गर्न समय


  • दिव्यदर्शन
  • बुधबार, मंसिर १८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डाै — मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आह्वान गरेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत ल्याउन सक्ने प्रदेशसभा सदस्यलाई पर्सि शुक्रबार बेलुका ५ बजेसम्म दाबी पेश गर्न आग्रह गरेका हुन्।

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक समर्थन जुटाउन नसक्ने अवस्था देखिएपछि प्रदेशसभामै राजीनामा घोषणा गरी पछि प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत चाहिने भए पनि यादवको पक्षमा सभामुखसहित २५ सांसद मात्र रहेका थिए, जसमा एक सांसद निलम्बित छन्।

एमालेका प्रदेश संसदीय दलका नेता समेत रहेका यादव कात्तिक २४ गते बर्दिबासस्थित एक होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उक्त नियुक्तिविरुद्ध सात दलका ७४ सांसद सर्वोच्च अदालत पुगेपछि राजनीतिक तनाब चुलिएको थियो। यही विवादका कारण संघीय सरकारले गरेको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेकी थिइन्। यस्तै, एमालेका रामचन्द्र मण्डल दुईतिहाइ मतले सभामुख पदबाट हटाइए।

लगातारको राजनीतिक उथलपुथलका कारण मधेश प्रदेशमा नेतृत्व परिवर्तनको श्रृंखला चलिरहेको छ। नवयुवा आन्दोलनपछि जनमत पार्टीका मुख्यमन्त्री सतीशकुमार सिंहले असोज २८ मा राजीनामा दिए। त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनल बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत नपाउने निश्चित भएपछि उनले पनि राजीनामा गरे। सोनलपछि यादव मुख्यमन्त्री बनेका थिए।

मधेश प्रदेशसभामा १० दलको प्रतिनिधित्व रहेको र दुई ठूला दलले मात्रै मिलेर पनि बहुमत नपुग्ने अवस्था बनिरहेका कारण गठबन्धन निर्माण चुनौतीपूर्ण देखिन्छ। तर यादवको नियुक्तिविरुद्ध संयुक्त रूपमा कोर्ट गएका सात दलका ७४ सांसदले अब मिलेर नयाँ सरकार गठन गर्ने सम्भावना धेरै देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web