बेनिघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवन प्रचण्डले उद्घाटन गर्ने,आज विशेष समारोह


  • दिव्यदर्शन
  • बुधबार, मंसिर ११ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका विशालटारमा निर्माण गरिएको अत्याधुनिक प्रशासनिक भवन आज मंसिर १० गते नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)का अनुसार भवन पूर्ण रूपमा सम्पन्न भइसकेको छ र उद्घाटनका दिन शैक्षिक प्रदर्शनीसहित विशेष समारोह आयोजना गर्ने तयारी पुरा भइरहेको छ। करिब १४ करोड लागतमा बनेको यो भवन २०७७ जेठ ३० गते तत्कालीन संघीय सांसद भूमिप्रसाद त्रिपाठी र तत्कालीन अध्यक्ष पित्तबहादुर डल्लाकोटीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। तीन तल्लामा विभाजित ३८ कोठाको यो आधुनिक संरचनामा पहिलो तलामा सामान्य प्रशासनिक सेवा, दोस्रो तलामा उप–प्रमुखको कार्यकक्ष तथा न्यायिक इजलास हल र तेस्रो तलामा गाउँपालिकाका प्रमुखको कार्यकक्ष रहेको छ। अहिलेसम्म सहकारीको भवन भाडामा लिएर सेवा दिँदै आएको गाउँपालिकाले नयाँ भवन सञ्चालनमा आएपछि सेवा–प्रवाह अझ सहज, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गरेको छ।

photo:Ashok shrestha

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web