धादिङ– थाक्रे गाउँपालिकामा शुक्रबार सम्पन्न १८औं गाउँसभा अधिवेशनले शिक्षा, यातायात, नक्सा, आवासीय विद्यालय र स्वास्थ्यसम्बन्धी महत्वपूर्ण कार्यविधिहरू सर्वसम्मत पारित गरेको छ। पालिकाको सभा हलमा बसेको अधिवेशनले प्रगति समीक्षा गर्दै आगामी दिनका योजनामाथि गम्भीर छलफल गरेको थियो।
अधिवेशनमा पालिका अध्यक्ष रामकुमार आचार्यले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न क्षेत्रका कामहरू अपेक्षाअनुसार अघि बढिरहेको जानकारी दिनुभयो।
त्यसैगरी, उपाध्यक्ष यन्त्रबहादुर थापा (जिम्दगी) ले योजना श्रोत–अन्तरण, योजना थप तथा रकमान्तरलगायतका शीर्षक समायोजनसहित बजेट तथा योजनाको संसोधन प्रस्ताव पेश गर्नुभयो।
सभाले ‘बिद्यालय समायोजन, दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि–२०८२’, ‘विद्युतीय अटो–रिक्सा व्यवस्थापन, नियमन तथा सञ्चालन कार्यविधि–२०८२’, ‘थाक्रे गाउँपालिकाको नक्सा सम्बन्धी कार्यविधि–२०८२’, ‘आवासीय विद्यालय छात्रावास तथा चमेना गृह सञ्चालन कार्यविधि–२०८२’ र ‘थाक्रे ग्रामीण आँखा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२’ लगायतका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको हो।
गाउँसभामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य तथा विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको पालिकाले जानकारी दिएको छ।
