काठमाडौं, कार्तिक ६ — यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार साइत खोज्नेका लागि आज बिहान ११ बजेर ३९ मिनेटमा टीका लगाउने समय उत्तम मानिएको छ । समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र लगाउने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने परम्परा छ ।
टीका लगाउनुअघि सोमवार लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी तेलको धाराले छेकेर टीका लगाउने चलन रहेको छ । टीकाको रङ्गबारे भट्टराईले बताएअनुसार शास्त्रीय रूपमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङ्गको टीका मान्यता प्राप्त छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका परिकार दिई स्नेह प्रकट गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई गच्छे अनुसार कपडा र दक्षिणा दिई सम्मान गर्छन् ।
यस दिनलाई नेवार समुदायले ‘किजापूजा’का रूपमा मनाउने गर्छन् । भक्तपुरका केही नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरेका छन् ।
