आज देशभर कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै, लक्ष्मीपूजा पनि आजै


  • दिव्यदर्शन
  • सोमबार, कार्तिक ४ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ, आज देशभर कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा एकै दिन धूमधामका साथ मनाइँदैछ। यमपञ्चक (दीपावली) पर्वको क्रममा पर्ने यी चाड यसवर्ष तिथिको घटबढका कारण एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार आज दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि औँसी तिथि लाग्ने भएकाले नरक चतुर्दशी र कुकुर तिहार आज सूर्योदयकालमा चतुर्दशी पर्ने आधारमा मनाउनुपर्ने उल्लेख गरिएको छ। साथै, लक्ष्मीपूजा पनि आजै गर्नुपर्ने भएको छ।

कुकुर तिहारको दिनमा घरघरमा कुकुरको पूजा गरिन्छ। कुकुरलाई टिका, माला लगाई मीठा खानेकुरा दिई सम्मान गरिन्छ। कुकुरलाई आज्ञापालक, वफादार र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। हिन्दू धर्मशास्त्रअनुसार कुकुर यमराजका दूतको रूपमा पनि उल्लेखित छन्, जसका कारण पनि यस दिन कुकुरको विशेष पूजा गरिन्छ।

यसअगाडि हिजो काग तिहार मनाइएको थियो, जसमा कागलाई यमदूतको रूपमा मानी पूजा गरिन्छ। यमपञ्चक अन्तर्गत अब बाँकी रहेको गाई तिहार, गोवर्द्धन पूजा र भाइटीका क्रमशः आगामी दिनहरूमा मनाइनेछ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web