काठमाण्डाै, – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण नगरेका बीमित परिवारहरूबाट असोज मसान्तपछि लिन भनिएको अतिरिक्त शुल्क हाललाई स्थगित गर्ने निर्णय गरेको छ।
बोर्डले अर्को सूचना नआएसम्मका लागि यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा अधिकारीहरूलाई निर्देशन दिएको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लले हालको परिस्थितिलाई ध्यानमा राखी आवश्यक संरचना तयार गर्न समय लाग्ने भएकाले यो निर्णय तत्काल लागू नगर्न बताउनुभएको छ।
यस निर्णयसँगै लामो समयदेखि स्वास्थ्य बीमा नवीकरण नगरेका नागरिकहरूले अब नवीकरण गर्दा तत्काल थप शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ।
यसअघि बोर्डले भदौ ११ गते सूचना जारी गर्दै “स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमालेख नवीकरण सम्बन्धी कार्यविधि–२०८२” कार्यान्वयनमा ल्याएको थियो। कार्यविधिअनुसार तोकिएको म्यादभित्र नवीकरण नगर्ने बीमित परिवारले नवीकरण गर्दा थप शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो।
प्रस्तावित शुल्क दर यस प्रकार थियो:
- ३ महिनाभित्र नवीकरण गरेमा: बीमाशुल्कको १० प्रतिशत थप
- ६ महिनाभित्र: ३० प्रतिशत थप
- ६ महिनादेखि १ वर्षभित्र: ५० प्रतिशत थप
- १ वर्षपछि: १०० प्रतिशत (दुई गुणा)
- २ वर्षपछि: तीन गुणा
- ३ वर्षपछि: चार गुणा
तर अहिले उक्त शुल्क लागू गर्ने व्यवस्था बोर्डले तत्कालका लागि स्थगित गरेको छ।बोर्डको यो निर्णयले धेरै बीमित परिवारलाई राहत मिल्ने अपेक्षा गरिएको छ, विशेषगरी ती परिवारलाई जो आर्थिक वा अन्य कारणले समयमै बीमा नवीकरण गर्न सकेका थिएनन्।
