शैक्षिक सुधारमा बेनीघाट रोराङको अग्रसरता : दुईदिने सुझाव संकलन गोष्ठी आयोजना हुने


  • दिव्यदर्शन
  • बिहिबार, असोज ३० २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, असोज ३०।
स्व–मूल्याङ्कनमा देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल बेनीघाट रोराङ गाउँपालिका अब शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धितर्फ सक्रिय बनेको छ। गाउँपालिकाले शैक्षिक सुधारका लागि व्यवहारिक सुझाव संकलन गोष्ठीको आयोजना गर्ने भएको छ।

गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा हुने यो कार्यक्रम असोज ३१ र कात्तिक १ गते—दुई दिनसम्म सञ्चालन हुनेछ। गोष्ठी वडा नं. १० स्थित पदमचौर आधारभूत विद्यालयको प्राङ्गणमा हुने शिक्षा अधिकृत बोधराज पाठकले जानकारी दिए।

गोष्ठीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहनेछ। कार्यक्रममा अध्यापनको प्रभावकारिता, विद्यार्थी मूल्याङ्कन, शिक्षक क्षमता विकास, विद्यालयको भौतिक पूर्वाधार सुधार, साथै अभिभावकको भूमिकाबारे गहन छलफल गरिने छ।

शिक्षा अधिकृत पाठकका अनुसार, गएको वर्षदेखि सञ्चालनमा रहेको ‘शैक्षिक सुधार अभियान’ लाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो गोष्ठी आयोजना गरिएको हो। कार्यक्रममा प्राप्त सुझावहरूलाई आगामी शैक्षिक नीति, कार्यक्रम र बजेट निर्माणमा प्राथमिकता दिइने जनाइएको छ।

शिक्षामा गुणस्तरीय सुधार र सहभागी योजना निर्माणको उदाहरणका रूपमा यो पहल गाउँपालिकाले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web