धादिङमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता असोज २४ गते, तयारी अन्तिम चरणमा


  • दिव्यदर्शन
  • बुधबार, असोज २२ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ /

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा आगामी असोज २४ गते धादिङबेसीस्थित सिटी हलमा हुन गइरहेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। “युवा पुस्ताको चाहना: असल नेतृत्व र इमान्दार राजनीति” शीर्षकमा आयोजना हुने प्रतियोगितामा जिल्लाका १३ वटै पालिकाबाट माध्यमिक तहमा अध्ययनरत ३२ जना विद्यार्थीहरू प्रतिस्पर्धामा उत्रने भएका छन्। कार्यक्रम संयोजक बद्री खतिवडाका अनुसार सहभागीहरूलाई फोनमार्फत सम्पर्क भईरहेको छ भने प्रमुख अतिथी र विशेष अतिथिहरूको निमन्त्रणा प्रक्रियासमेत पूरा भइसकेको छ।

समाजका अध्यक्ष राजन खकुरालले दिएको जानकारीअनुसार, प्रतियोगिताले युवाहरूलाई नेतृत्व क्षमता अभिवृद्धि गर्न प्रोत्साहन गर्नुका साथै इमान्दार राजनीतिको अवधारणाबारे गम्भीर बहसको वातावरण तयार पार्ने उद्देश्य राखिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार, चौँथोलाई १० हजार र पाँचौँ स्थान प्राप्त गर्ने विद्यार्थीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

धादिङका सबै १३ पालिकाबाट प्रतिनिधित्व हुनेगरी छनोट भएका विद्यार्थीहरूमा गल्छी गाउँपालिकाबाट संगीता श्रेष्ठ र सक्षम नेपाल, त्रिपुरासुन्दरीबाट विवेक बन्जरा र सन्ध्या बिक, थाँक्रेबाट सम्बृदी रुपाखेती, सम्भव रुपाखेती र श्रीकृष्ण सुवेदी, धुनेबेशी नगरपालिकाबाट काजल बास्कोटा, रन्जिता तामाङ र श्रीब्मा खकुरेल, नीलकण्ठ नगरपालिकाबाट इशा थापा, सञ्जिवनी पोख्रेल, मनिषा शाक्य र अविज्ञ कार्की, र रुबीभ्यालीबाट मेनुका तामाङ रहेका छन्।

यस्तै, खनियाबासबाट आशिक तामाङ र फ्लोरिना गुरुङ, ज्वालामुखीबाट सन्देश भट्ट र बबिता गुरुङ, गंगाजमुना गाउँपालिकाबाट टीका नेपाली र श्रेया तामाङ, सिद्धलेकबाट समिर गिरी र रनिशा सुनार, नेत्रावती डबजोङबाट युनिका श्रेष्ठ, अनुष्का कमर र रोशनी तामाङ तथा बेनीघाट रोराङबाट उमिद थपलिया, राजिव भट्ट र विजय पाण्डे, र गजुरी गाउँपालिकाबाट अनिरुद्रसिं बस्नेत र इसा भण्डारी छनोट भएका छन्।

कार्यक्रम बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। संविधानसभा सदस्यहरू, पूर्वमन्त्रीहरू, प्रदेश र संघीय सांसदहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरोकारवाला निकायका उच्च प्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ। संस्थाका महासचिव बाबुकाजी भण्डारी र सचिव राजेन्द्र थपलियाले कार्यक्रमको सफलताका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web