धादिङ — धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा हिजो राति एक हृदयविदारक घटना घटेको छ। आफ्नै ३० वर्षीय छोराले ५४ वर्षीया आमाको निर्ममतापूर्वक हत्या गरेको खुलासा भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, घटनामा संलग्न यम कडेलले आफ्नी आमा राममाया कडेललाई राति करिब ९ बजेतिर खुँडा प्रहार गरी हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, आमाको शरीर दुई टुक्रा पारिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालका अनुसार, घटनाको जानकारी पाएपछि तत्काल खटिएको प्रहरी टोलीले राति नै आरोपी यम कडेललाई नियन्त्रणमा लिएको छ। “दोषीलाई नियन्त्रणमा लिइएको छ, प्रारम्भिक अनुसन्धानमा उनी मानसिक रोगी भएको आशंका देखिएको छ तर आमाको हत्या गर्नुको यथार्थ कारण हालसम्म खुलेको छैन,” एसपी रिजालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको छ। स्थानीय बासिन्दा र आफन्तहरू घटनाले स्तब्ध र त्रसित भएका छन्।
हाल आरोपीलाई हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको र घटनाको पृष्ठभूमिका बारेमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
