धादिङ ।
हरितालिका तीजको अवसरमा सिद्धलेक गाउँपालिका–१ बैरेनीमा अवस्थित आयाम इङ्लिश स्कुलले विशेष कार्यक्रमको आयोजना गरी सांस्कृतिक उत्सव भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका बिद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिँदै नेपाली संस्कृति झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रम विद्यालयका सञ्चालक समिति अध्यक्ष तथा निर्देशक बिकास कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका तोथनाथ अर्याल रहनुभएको थियो भने अन्य विशिष्ट अतिथिहरुमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापक ममता आर्याल रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विशाल गुरुङ र कक्षा ७ मा अध्ययनरत छात्र रोमिक सिलवालले सहकार्यमा गरेका थिए। नृत्य प्रतियोगितामा कूल १३ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो — कक्षा १ देखि ४ सम्मको प्रथम तह र कक्षा ५ देखि ७ सम्मको दोस्रो तह।
निर्णायक मण्डलमा विद्यालयकी नृत्य शिक्षिका अस्मि सुनार र निक्की गुरुङ रहनुभएको थियो। नृत्य प्रतिभालाई मुल्यांकन गरी दुबै तहबाट उत्कृष्ट टोलीहरूको छनोट गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रममा सभापति, प्रमुख अतिथि तथा अतिथिहरूले संयुक्त रूपमा विजयी टोलीलाई पुरस्कार प्रदान गरेका थिए। विद्यालय व्यवस्थापक ममता आर्यालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।विद्यालय परिवारले यस्तो सांस्कृतिक कार्यक्रममा विद्यार्थीको सक्रियता र उत्साह देख्दा संस्कार र सिर्जनशीलतालाई अझ प्रोत्साहन मिलेको विश्वास व्यक्त गरेको छ।

