धादिङ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङ शाखाले आफ्नो २६औं स्थापना दिवस अन्तरक्रिया कार्यक्रमसहित मनाएको छ। मंगलबार धादिङबेसीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा “दिगो विकासमा पत्रकारको भूमिका” विषयमा विचार विमर्श गर्दै पत्रकारिता र विकासबीचको सम्बन्धलाई उजागर गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि नीलकण्ठ नगरपालिका वडा नं. १२ का अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले पत्रकारलाई समाज परिवर्तनको संवाहकको रूपमा उल्लेख गर्दै भने, “विश्वसनीय र तथ्यमा आधारित पत्रकारिता सामाजिक रूपान्तरणको मेरुदण्ड हो। पत्रकारिता केवल सूचनाको स्रोत होइन, यो समाजको ऐनाजस्तै हो।”
वडा अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनेतर्फ ध्यान दिएको जानकारी गराउँदै शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार निर्माणजस्ता क्षेत्रहरूमा उल्लेखनीय प्रगति भएको दाबी गरे। सिमित स्रोतसाधनका बीचमा पनि नतिजामूलक कामहरु भएको उल्लेख गर्दै उनले पत्रकारलाई सुधारका लागि आवाज बुलन्द गर्न आग्रह गरे।
उनले तिप्लिङ सडकखण्डको कमसल पिचबारे उदाहरण दिँदै भने, “यस्ता विकासका नाममा भएको अनियमितता विरुद्ध पत्रकारको कलम अझ बलियोसँग चल्नुपर्छ, जसले दिगो विकासमा थप योगदान पुर्याउँछ।”
फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले संस्थाको २६ वर्षे यात्राबारे जानकारी दिँदै पत्रकारिता क्षेत्रका चुनौती र अवसरबारे प्रकाश पारे। उनले फोनिजले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए।
“स्थापना दिवस केवल सम्झना मात्र होइन, नयाँ सोच र सहकार्यको सुरुवात पनि हो,” अध्यक्ष श्रेष्ठले भने।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सत्य, निष्पक्षता र तथ्यमा आधारित पत्रकारिता नै दिगो विकासको मेरुदण्ड हुने धारणा राखे।
कार्यक्रम सञ्चालन फोनिज धादिङका सचिव बिरमान तामाङले गरेका थिए।
